• April 08, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुर (तनहुँ),। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गरेका थिए ।यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै छन् । अहिलेसम्म रु १० लाखको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा रु १५ लाख सुन्तला रहेको उनले बताएका थिए । “यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देऊ भन्न व्यापारी आएका थिए, मैले दिइनँ,” गुरुङले भने, “ठेक्कामा दिनुभन्दा आफैँले बेच्दा राम्रो होला भनी नदिने निधो गरे ।”

विसं २०५७ मा करिब २२ रोपनी जग्गा लिएर २०५८ सालमा करिब एक हजार बिरुवा रोपी सुन्तला खेती गर्दै आएका गुरुङको बगैँचामा अहिले तीन हजारभन्दा बढी सुन्तलाको बोट रहेका छन् । उनको बगैँचामा वर्षभरि नै दैनिक तीन जनालाई नियमित रुपमा रोजगारी मिलेको र अहिले सुन्तला टिप्ने, बोक्ने समयमा भने छ–सात जनाले काम पाएको अवस्था छ ।अन्य कुनै पनि खेतीपाती नहुने भिरालो, चिसो जमिनमा लगाएको सुन्तलाबाट बर्सेनि मनग्ये आम्दानी हुने गरेको जानकारी दिँदै आफूले उत्पादन गरेका सुन्तला स्थानीय बन्दीपुर बजारसहित डुम्रे, दमौली, पोखरा र चितवनका बजारहरूमा बिक्री हुने गरेको उनले जानकारी दिएका थिए ।

 बन्दीपुर क्षेत्रका सुन्तला किसानका अनुसार वर्षमा रु १० लाख कमाउन गाउँबाहिर जानु पर्दैन, गाउँघरकै भिरपाखामा सुन्तला लगाए १०–१५ लाख कमाउन गाह्रो छैन । “बन्दीपुरका सुन्तला भन्ने बित्तिकै एउटा ‘ब्रान्ड’ छ, बन्दीपुर पहिलेदेखि नै सुन्तलाका लागि प्रसिद्ध ठाउँ हो, बीचमा रोग लागेर समस्या पनि भयो,” सुन्तला किसान कष्णबहादुर गुरुङले भने, “तर पनि हामीले बन्दीपुरमा सुन्तला बचाएका छौँ, घरमै बसी राम्रो आम्दानी गर्न सफल भएका छौँ ।”स्थानीय सुन्तला किसानका अनुसार बिरुवा लगाएको करिब तीन वर्षदेखि नै उत्पादन सुरु हुन्छ । आफ्ना बालबच्चालाई जस्तै गरी सुन्तलाको स्याहार  गर्नुपर्दछ । कीराको प्रकोप, जीवाणु तथा ढुसीजन्य रोग, जरा कुहिनेलगायतका समस्याबाट सुन्तलालाई जोगाउन भने जति सजिलो छैन, बगँैचामै काम गरी रमाइरहे सुन्तलाले पनि राम्रै आम्दानी दिने रहेछ ।

स्थानीय बन्दीपुर गाउँपालिकाले किसानको मागअनुसार सुन्तलाको बिरुवा, अत्यावश्यक औषधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएकामा सुन्तला किसान खुसी देखिन्छन् । भारतीय पूर्वसैनिक समेत रहेका सुन्तला किसान गुरुङले भने, “मलाई दुई छाक खान पुगेकै छ, मेरा छोराछोरी नातिनातिनाहरु सबै आ–आफ्नो ठाउँमा कमाउने भइसकेका छन् । आफ्नो त पेन्सन आउँछ, कमाएको रकम सामाजिक काममा लगाउँदै रमाइरहेको छु । यसैमा खुसी मिल्छ । गाउँ तथा देशबाहिर जान तम्सेका युवायुवतीलाई गाउँमै काम गरी खान र मातृभूमिलाई माया गर्न अनुरोध छ, यसैमा सबैको भलो छ ।”

सुन्तला पकेट कार्यक्रम घोषणा गरेर विभिन्न कार्यक्रममार्फत भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताएका थिए । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र वडा नंं को ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन् ।मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा बन्दीपुर आसपासका भूभाग सुन्तला उत्पादनका लागि अनुकूल गाउँ मानिन्छ । यस क्षेत्रका अधिकांश सुन्तला किसानले प्रतिवर्ष रु १० मूल्य बराबरको सुन्तला बेच्ने गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा व्यावसायिक रुपमा सुन्तलाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्थासहित उनीहरूको माग सम्बोधन गर्न थालेपछि यसप्रति कृषक आकर्षित भएको बताउछन् । उच्चकोटीको स्वादिलो सुन्तलाका लागि पर्याय बनेको बन्दीपुरका किसानको माग सम्बोधन गर्न पालिका प्रतिबद्ध रहेको उनले बताएका थिए ।गाउँपालिकाले आवश्यक सहयोगसहित विशेष चासो दिन थालेपछि पछिल्ला वर्षहरूमा बन्दीपुर क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएको, आधुनिक तरिकाबाट गोडमेल, हेरचाहसहित खेती हुन थालेको, उत्पादकत्व र गुणस्तर वृद्धिसँगै  बजारको पहुँचका कारण सुन्तलाखेती रोजाइमा परको अवस्था छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement