इटहरी । सुनसरीको इटहरी उप. का–४ हरियाली मार्गमा रहेको सेफर्ड चिल्ड्रेन एकेडेमी स्कुलका सञ्चालक रहेका मिलन राईले साझेदारलाई सडकमा पुराएका छन्।स्कुलका शिक्षक तथा पार्टनरसमेत रहेकालाई धोकाधडी गरी लाखौं रकम ठगी भएको राईविरुद्धको उजुरी उपमहानगरपालिकाको न्यायीक समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयसम्म पुगेको छ।
पार्टनर समेत रहेका स्कुलका शिक्षक रञ्जितकुमार शाहले राईले गरेको बदमासीले आफू प्रताडित भएको भनी पत्रकार सम्मेलन गरेका थिए। तैपनि राईले आफूले गरेका गल्तीमा क्षमा मागेर व्यवाहार मिलाउने त कता हो कता नाटकीय शैलीमा शक्तिको आड भरोसामा दबाउने प्रयत्न जारी राखेको पीडितको गुनासो छ।
स्कुलका सञ्चालक समेत रहेका बेला शाहसहित केही शिक्षक–कर्मचारीहरूले राईले दुव्र्यबहार गरेको समेत बताएका थिए।
शाहका अनुसार करिब ८० लाख रुपैयाँमा विद्यालय बिक्री गर्ने प्रक्रिया अघि बढिरहँदा आवश्यक कागजात नपुग्दै राईले गैरकानुनी ढंगबाट इटहरी उपमहानगरका कर्मचारीहरूसँगको सेटिङमा स्कुल आफ्नो नाममा बनाएर अन्य साझेदारलाई धोका मात्र दिएका छैनन्, त्यसवापत पाउनुपर्ने रकम पनि बुझाएका छैनन्, ७ महिनासम्मको पारिश्रमिक दिने कुरा त परै जाओस्।
‘आवश्यक कागजात अपूरो थियो र अर्का सञ्चालक शिवप्रसाद तिम्सिनासँग पनि सम्पर्क स्थापित हुन सकेको थिएन। यस्तो अवस्थामा कारोबार अघि बढ्नै सक्तैन थियो’, शाह भन्छन्,‘उपमहानगरका केही कर्मचारीसँगको मिलेमतोमा विद्यालय राईको नाममा नामसारी गरिएको छ। यस्तो कसरी हुन्छ?’
राईबाट पीडित बनेका शाहले आफूलाई तोकिएको रकम नदिइएको तथा सात महिनाको पारिश्रमिकसमेत रोकिएको आरोप लगाएका छन्।
शाहले सञ्चालक राईले “थप दवाब सिर्जना गर्ने, आत्महत्याको नोट लेखेर फरार रहने, धम्की दिने, झुटा उजुरी दर्ता गराई पटक–पटक प्रहरीमा हाजिर हुन बाध्य पार्ने” जस्ता काम समेत गरेको गुनासो गरेका छन्।न्यायीक समितिमा पुगेको विवादको मुद्दामा निर्णय आउन लागिरहेका बेला राई सम्पर्कविहीन बनी झन् दुख दिने गर्दथे।
विद्यालयका शिक्षक–कर्मचारीहरूले पनि तलब रोक्ने, २ वर्षका फेक एग्रिमेन्ट बनाउने, विद्यालय प्रवेशमा रोक लगाउने, नक्कली भौचर तयार गर्ने, झुटा मुद्दा दायर गर्ने तथा सामाजिक सञ्जालमा फेक एकाउन्टमार्फत भ्रम फैलाउने जस्ता काम राईले निरन्तर गरिरहेको आरोप लागेको छ।मार्कसिट तथा प्रमाणपत्र वितरणमा अनियमितता र समयमा कागजात नदिने समस्या रहेको पनि उनीहरूको भनाइ छ।यसबाहेक राईबाट पीडित भएका कयनले गुनासो गरेका प्रमाण पनि क्यानडानेपालले प्राप्त गरेको छ। लेनदेनको कागज गर्ने तर रकम नतिर्ने राईले गरेको ति व्यक्तिहरुको आरोप छ। यसबाहेक कतिपयले अग्रिम लाखभन्दा बढी रकम माग गरेपछि उक्त स्कुलमा आफ्नो सन्तानको दाखिला समेत नगरेको भन्ने प्रतिक्रियासहितका प्रमाणिक दस्ताबेज सुरक्षित छन्।राईले भने रञ्जितकुमार शाह नियतबस आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन्। उनले शाहविरुद्ध मानाहानीको मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधिन रहेको बताएका छन्।
