• September 18, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

भोटेकोशी बाढीपछि हेटौंडा–काठमाडौं सवारीको नयाँ रूट निर्धारण

सप्तकोशी न्यूज डेक्स, सुनसरी । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पृथ्वी राजमार्गलगायत विभिन्न सडक अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौंडाबाट काठमाडौं तथा काठमाडौं–हेटौंडा चल्ने सवारीसाधनका लागि नयाँ रूट निर्धारण गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ हुँदै सञ्चालन गरिनेछ। काठमाडौं–मकवानपुर फर्किने क्रममा भने कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारीसाधन काठमाडौं–हेटौंडा आवतजावतका लागि छुट्टै रूट निर्धारण गरिएको छ। काठमाडौंबाट हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ भने हेटौंडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालबाहक सवारीसाधनलाई उक्त बेलिब्रिज प्रयोग गर्न रोक लगाइएको छ। त्यस्ता सवारीसाधनले बेलिब्रिजसँगै रहेको डाइभर्सन प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, राजमार्गमा सवारी चालकहरूले धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ।

यसैबीच, भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र नदी कटान हुँदा राजमार्गहरू अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बाढी, पहिरो तथा सडक कटानका कारण राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement