• September 18, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

इटहरीमा सर्पदंश उपचारदेखि बेपत्ता नागरिकको खोजीसम्म सांसद अशोक कुमार चौधरीको माग


सप्तकोशी न्युज टेक्स सुनसरी

इटहरी । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक कुमार चौधरीले सुनसरीका नागरिकको सुरक्षा, सर्पदंश उपचार, सडक दुर्घटना तथा स्वास्थ्य सेवाको अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै सांसद चौधरीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उनले सुनसरीका २१ जना नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएको र आफ्नो निर्वाचन क्षेत्रका सचिन गौतम, सचिव उरावसहित १५ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिँदै बेपत्ता नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी सांसद चौधरीले इटहरीमा सर्पदंश उपचारको प्रभावकारी व्यवस्था नभएको विषयलाई गम्भीर रूपमा उठाए। इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार नहुने जानकारी आएको भन्दै उनले आवश्यक सघन उपचार सुविधा विस्तार गर्न माग गरे।

उनले इटहरी–५ की ८ वर्षीया आस्वाना चौहानलाई घरमै खेलिरहेका बेला गोमन सर्पले डसेपछि इटहरी, धरान हुँदै विराटनगर पुर्‍याउँदा पनि ज्यान बचाउन नसकिएको घटना उल्लेख गरे। सर्पदंशका बिरामीका लागि सुरुवाती समय अत्यन्त महत्वपूर्ण हुने भन्दै एउटा अस्पतालबाट अर्को अस्पतालमा बिरामी पठाउँदै समय बिताउने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा सांसद चौधरीले धरानको लाङ्घाली चोकनजिक दुर्घटनामा गम्भीर घाइते राजेन्द्र प्रसाद घिमिरेलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि आईसीयू खाली नभएपछि विराटनगर लैजाँदा मृत्यु भएको घटनासमेत उठाए। समयमै आवश्यक उपचार नपाउनु पनि मृत्युको कारण बन्ने भन्दै उनले स्वास्थ्य पूर्वाधार विस्तारमा जोड दिए।

उनका अनुसार सुनसरीमा श्रावण १ देखि भदौ ३० गतेसम्म ६१ दिनमा १७२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको र २०२ जना घाइते भएका छन्।

धरान र विराटनगरको बीचमा गम्भीर घाइतेको जीवन बचाउन सक्ने पर्याप्त सरकारी आकस्मिक तथा आईसीयू सेवा नरहेको उल्लेख गर्दै सांसद चौधरीले इटहरीजस्तो रणनीतिक स्थानमा ट्रमा, आकस्मिक तथा आईसीयू सेवासहितको अस्पताल निर्माण गर्न माग गरे।

दुर्घटना र सर्पदंश सधैँ रोक्न नसकिने भए पनि उपचारको अभावमा हुने मृत्यु रोक्न सकिने सांसद चौधरीको भनाइ थियो। उनले सभामुखमार्फत सरकारसँग इटहरी अस्पतालमा तत्काल सर्पदंश उपचार सेवा सञ्चालन गर्न, आवश्यक एन्टिभेनम, तालिमप्राप्त जनशक्ति, आकस्मिक उपचार सुविधा, आईसीयू तथा बालबालिकाका लागि PICU र आवश्यक श्वासप्रश्वास सहयोगसहितका बेडको व्यवस्था गर्न माग गरे।

इटहरी अस्पताललाई आवश्यक जनशक्ति, उपकरण र बजेट सुनिश्चित गरी तत्काल स्तरोन्नति गर्नुपर्ने उनले बताए।

सांसद चौधरीले सार्वजनिक सेवासँग जोडिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने पनि बताए। गजेन्द्र नारायण सिंह अस्पताल, ग्यास अभावलगायतका विषयमा प्रश्न उठ्नु सरकारको बचाउ गर्ने विषय नभई सुधार गर्नुपर्ने विषय भएको उनको भनाइ थियो।

सरकारको पाँच महिना पूरा भए पनि राज्यको संरचना पाँच महिनामा निर्माण नभएको उल्लेख गर्दै उनले अस्पतालमा आफन्तलाई जागिर दिने, विद्यालय तथा सरकारी कार्यालयमा पहुँच र नातागोताका आधारमा नियुक्ति गर्ने तथा ग्यासको लाइसेन्स र डिलर छनोटमा पहुँचको प्रभाव देखिने प्रवृत्ति लामो समयदेखि रहँदै आएको बताए।

उनले विगतदेखि जरा गाडेर बसेको संरचना र संस्कारको परिणाम नागरिकले अहिले विभिन्न क्षेत्रमा दुःख पाइरहेको बताए। ग्यासको सिलिन्डर खाली देखेर प्रश्न गर्नु जायज भए पनि त्यस्तो अवस्था सिर्जना गर्ने प्रणाली कसरी निर्माण भयो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो।

ग्यास डिलर छनोटमा पहुँच र प्रभावले कति स्थान पायो भन्ने विषयमा समेत हिसाब खोजिनुपर्ने सांसद चौधरीले बताए।

विगतका कमजोरीलाई वर्तमान सरकारको पाँच महिनाको खातामा मात्र राखेर मूल्याङ्कन गर्न खोज्दा दशकौँदेखिका समस्याको समेत हिसाब गर्नुपर्ने उनको भनाइ थियो।

सांसद चौधरीले आफूहरू कमजोरी लुकाउन नआएको उल्लेख गर्दै पुरानो संरचनाको समस्या देखाएर नयाँ सरकारलाई मात्र जिम्मेवार ठहर्‍याउने प्रयास उचित नहुने बताए। वर्षौँदेखि बिग्रिएको प्रणाली सुधार्ने काम सुरु भएको दाबी गर्दै उनले सरकारको पाँच महिनामै चमत्कार भएको दाबी नगरे पनि सुधारको प्रक्रिया अघि बढेको स्पष्ट पारे।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement