सप्तकोशी न्युज सुनसरी इटहरी । हालै नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि स्याकार ट्रेडिङ कम्पनी प्रालिले रु. १ करोड सहयोग गरेको छ।
पद्यम ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङले विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ।
कम्पनीले भनेको छ, “यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौँ। राहत तथा पुनर्स्थापनाको काममा सकारात्मक योगदान पुर्याउनु कम्पनीको उद्देश्य हो।”
विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकार तथा विभिन्न सरोकारवाला निकायले गरिरहेका प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ। प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन सामूहिक प्रयास महत्वपूर्ण हुनेमा समेत कम्पनीले जोड दिएको छ।
