सप्तकोशी न्यूज डेक्स, सुनसरी । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधान तथा खोजी, उद्धार र राहत व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
सोमबार बिहान प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा विपद्पछिको अवस्थाबारे विस्तृत छलफल भएको थियो।
त्यसपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे ब्रिफिङ लिएका छन्।
यसैगरी प्रधानमन्त्री शाहले सोमबार नै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि बाढीपछिको सुरक्षा अवस्था, खोजी तथा उद्धार र राहत व्यवस्थापनका विषयमा ब्रिफिङ लिने तयारी गरेका छन्।
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण तथा प्रभावित क्षेत्रको व्यवस्थापनलाई तीव्रता दिएको छ।
