सप्तकोशी न्युज डेक्स
सुनसरी । तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि विभिन्न जिल्लामा ७३४ जनाको शव फेला परेको हो। यो विवरण आइतबार बिहान ९ बजेसम्मको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।
बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना रहेका छन्।
त्यस्तै, रसुवाका ५६२ र नुवाकोटका ११५ जना पनि सम्पर्कविहीन छन्। विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै यात्रा गरेका १२७ नेपाली नागरिक तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी २४२ जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि सर्जिकल र मेडिकल टोली परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले २ हजार ५१३ जनाको उद्धार गरेका छन्।
जलविद्युत् आयोजनाका सुरुङबाट भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। त्यस्तै, हालसम्म २२७ जना विदेशी नागरिकलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको छ। आइतबार मात्रै नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
