कोशी प्रदेश कार्यालयले सार्वजनिक गरे बजेट : आम्दानीभन्दा झण्डै ३ अर्बभन्दा बढी खर्च

सुनसरी । कोशी प्रदेश सरकारले गत आर्थिक वर्षको बजेटको अनुमानभन्दा ९ अर्ब ६८ करोड २२ लाख ५१ हजार २११ रुपैयाँ कम आम्दानी गरेको छ । खर्च भने आम्दानीभन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी गरेको छ ।कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयले सोमबार सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेशको आम्दानीमा पनि बेरुजु, निकासा फिर्ता र अनुदान फिर्ताको रकम जोडिएको छ । उक्त आम्दानीमा बेरुजु, निकासा फिर्ता र अनुदान फिर्ताको रकम नजोड्ने हो भने प्रदेशको कुल राजस्व आम्दानी ३ अर्ब ३९ करोड ५६ लाख ७८ लाख १३८ रुपैयाँमात्रै हो ।प्रदेश सरकारले आन्तरिक राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । प्रदेशले लक्ष्यभन्दा १ अर्ब १८ करोड २१ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ ।

लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारको सञ्चित कोषमा दाखिला भएको राजस्व जम्मा २८ अर्ब ९५ लाख ४८ हजार ७८९ रुपैयाँ छ । प्रदेश सरकारले गरेको खर्चको विवरण अन्तिम सार्वजनिक भइनसके पनि अन्तिमसम्ममा ३० अर्ब ८० करोड आसपास कायम हुने लेखा नियन्त्रक कार्यालयको अनुमान छ ।साउन १ गते साँझसम्मको विवरणमा भने प्रदेश सरकारको खर्च विवरण ३० अर्ब ९४ करोड देखिएको छ ।

जुन बजेटमा गरिएको खर्चको अनुमानभन्दा ६ अर्ब ७५ करोड १८ लाख कम हो ।आम्दानीको हिसावले प्रदेशले शत प्रतिशतभन्दा बढी खर्च गरेको छ । गत वर्षको मौज्दात ३ अर्ब ५१ करोड रुपैयाँ नभएको भए बजेट सिधै घाटामा जाने थियो । गत आर्थिक वर्षमा सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख थियो । उक्त बजेटबाट संघीय सरकारलाई सशर्त अनुदानतर्फ २ अर्ब १६ करोड फिर्ता गएकोले अन्तिम बजेट ३७ अर्ब ६९ करोड १८ लाख कायम भएको थियो ।

प्रदेश सरकारले चालुतर्फ १६ अर्ब २८ करोड ४३ लाख ८१ हजार ५२६ रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब ४७ करोड ६४ लाख १ हजार ७९८ रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये चालुतर्फ ७९ दशमलव ४३ र पूँजीगततर्फ ८४ दशमलव ४४ प्रतिशत गरी जम्मा ८२ दशमलव २८ प्रतिशत बजेट खर्च भएको विवरण यसअघि नै लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको थियो ।

टिप्पणी