नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिए सडक मा आन्दोलन गर्ने चेतावनी

सुनसरी।   नक्कली भुटानी शरणार्थीमा संलग्नलाई कसैको दबाबमा उन्मुक्ति दिइए आन्दोलन गर्ने चेतावनी एक कार्यक्रमका वक्ताहरूले दिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले नागरिकलाई अनागरिक बनाउँदै तेस्रो देश पठाउनु राज्यविरुद्धको अपराध भएको बताउँदै दोषीहरुलाई कडा कारबाही हुनुपर्ने बताए । उनले मानव तस्करीमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिए ।

“यो मानव तस्करी हो, राज्यविरुद्धको अपराधमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारले थालेको कार्य सकारात्मक छ, यसको लागि प्रधानमन्त्रीलाई धन्यवाद । तर, कसैको दबाबमा उन्मुक्ति दिने काम भए कडा आन्दोलन गर्छौ” प्रवक्ता बास्तोलाले भने । अहिलेको व्यवस्था दलालहरूको भएकोले यस्ता मानव तस्करको संरक्षण गर्न सक्ने भन्दै कारबाहीको लागि दबाब सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सिपी गजुरेलले भ्रष्टाचार र मानव तस्करीका कारण बुद्ध र सगरमाथाको देशको सम्मान अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूले गुमाउनु परेको बताए । उनले भ्रष्टाचारको सम्बन्ध मानव तस्करसँग रहेको भन्दै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । गजुरेलले प्रकरणमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजे सरकारविरुद्ध देशैभर आन्दोलनको आँधीबेहरी उठ्ने र त्यसको नेतृत्व आफूहरूले गर्ने दाबी समेत गरे ।


टिप्पणी