कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री थापा आज पद तथा गोपनीयताको शपथ लिदै

सुनसरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिदै  । 

थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर थापाले दाबी पेश गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले भने अघिल्लो पटक उद्धव थापाकै नेतृत्वको सरकारमा पठाइएका कमलप्रसाद जवेगुलाई यस पटक पनि सरकारमा पठाउने तयारी रहेको जानकारी दिए । कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाममा छलफल गरिरहेको जनाइएको छ । गठबन्धनमा रहेको जनता समाजवादीले भने अहिले नै सरकारमा नजाने रणनीतिमा रहेको जनाइएको छ ।

टिप्पणी