विराटनगरको सुनचाँदी पसलमा छापा मार्दा ठुलो परिमाणमा तस्करीको चाँदी बरामद

सप्तकोशी न्युज डेक्स 

कोशी । विराटनगर स्थित एउटा सुनचाँदी पसलमा छापा मार्दा ठूलो परिणाममा तस्करीको चाँदीका गहना बरामद गरेको छ । आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर तस्करीको चाँदीका गहना बरामद गरेको हो ।

बरामद गरेको चाँदी करिब ४० केजी रहेको बुझिएको छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको बताए । ‘बरामद गरिएको चाँदी तौलिने काम हुन लागेको छ,’ उनले भने, ‘तौलिएपछि परिमाण थाहा हुनेछ ।’ सुनचाँदी व्यवसायी संघका प्रतिनिधि समेतलाई राखेर तौलिने काम हुन लागेको उनले बताए ।

भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले छापा हानेको हो।

विश्वजीत जानाले सञ्चालन गर्दै आएको ज्वेलर्समा छापा हान्दा ठूलो परिणाममा चाँदीका गहना बरामद गरिएको हो । चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवं गरगहना बरामद भएको छ।  बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लास्टिकको बोरामा हालेर लगिएको छ ।

टिप्पणी