वामदेवको नजर एमालेतिर, ७० वर्षे उमेरहदको प्रावधान हटेपछि उत्साहित

सप्तकोशी न्युज डेक्स

काठमाडौं । राजनीतिक रुपमा दोधारमा रहेका नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम एमालको ७० वर्षे उमर हद हटेपछि उत्साहित देखिएका छन् । उनले एमालेको भर्खरै सम्पन्न पाँचौ केन्द्रीय कमिटीको बैठकले यस अघि पार्टीमा लागू भएको ७० वर्षे उमेर हद हटाउने निर्णय गरेपछि एमाले प्रवेशको आकांक्षी देखिएका छन् । तथापि औपचारिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गनुपर्ने अडान राखेका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेमा ७० वर्षे उमेर हद हटाउने निर्णय अन्य केही नेताहरुका लागि भएको बताएका थिए ।

उनले आफूलाई एमालेमा प्रवेशमा सहज बनाउने गरि नभएको जिकिर गर्दै औपचारिक प्रस्ताव पार्टी अध्यक्षले राख्नुपर्ने अडानमा रहेको धारणा राखेका थिए । उनले भनेका थिए, ‘अहिलेको उमेर हद हटाउने निर्णय केही समयका लागि मात्रै हो । एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी दिनका लागि प्रावधान हटाइएको हो । मेरा लागि अध्यक्षले प्रस्ताव गरेर औपचारिक रुपमा आमन्त्रण गर्नुपर्‍यो  नि ’

अहिलेको निर्णय पूर्णाकालीन नभएको र एकीकृत समाजवादीबाट प्रवेश गरेका नेताहरुलाई समावेश गर्न अल्पकालीन निर्णय भएका उनका भनाइ थिए । उनको भनाइको आशय अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक प्रस्ताव गरे पार्टीमा फर्कने मनस्थितिमा रहेका छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको नेकपाकालमा उपाध्यक्ष रहेका गौतम नेकपाको शक्तिशाली सचिवालय सदस्यको रुपमा रहेका थिए। नौ सदस्यीय सचिवालयमा पार्टीमा चलेको अन्तरसंघर्षमा गौतम निर्णायक बनेका थिए ।

पार्टीमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको अन्तरद्वन्द्वमा निर्णायक मानिएका गौतम सदैब अनिर्णित बन्दै आएका थिए । यही क्रममा सर्वोच्च अदालतको फैसलाले २०७७ फागुन २३ गते दुई पार्टी एकताबीच बनेको नेकपा औपचारिक रुपले अलग भइसकेपछि उनी कतै पनि खुल्न सकेनन् ।

नेकपा विभाजन पछि स्वतन्त्र रुपले एकता अभियान सुरु गरेका गौतमले अन्ततः आफ्नै नेतृत्वमा २०७९ असार १४ गते नेकपा (एकता राष्ट्रिय अभियान)  नामक नयाँ दल गठन गरेको घोषणा गरेका थिए ।

एमालेको नवौं महाधिवेशनले तय गरेको ७० वर्षे उमेर हदबन्दीले पार्टीमा लामो समय योगदान गरेका नेताहरु सक्रिय राजनीतिबाट विमुख भएका थिए ।

उनीहरुलाई ज्येष्ठ कम्युनिष्ट मञ्चमा र कतिपयलाई पार्टीको सल्लाहकारमा मनोनित गरिएका थिए । एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनको सम्मुखमा उमेर हदभित्र नपरेका ओली दास्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

अहिले एमालेमा ७० वर्षे उमेरहदको प्रावधान हटेपछि गौतमले एमालेका नेताहरुसँग छलफल अघि बढाएका छन् । उनले यस अघि अन्य पार्टीमा प्रवेश गर्ने चर्चा समेत चलेका थिए ।

तत्कालीन नेकपा विभाजन भएर राजनीतिक रुपमा अलग भइसकेका पार्टीलाई पुनः मिलाउने उनको एकता अभियानको उपादेयता सकिएकाले पछिल्लो समय पार्टी प्रवेशको लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि आन्तरिक छलफल गरिरहेका थिए ।

यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईको नेसपा लगायत अन्य ससाना वाम घटकहरुको बीचमा गठन गर्ने भनिएको समाजवादी केन्द्रमा समेत सहभागी हुने आकांक्षा व्यक्त गर्दै आन्तरिक सक्रियता बढाएका थिए ।

तर, पछिल्लो एमालेको निर्णयले उनी एमालेमा प्रवेशको बाटो खुला भएका छ । उनले एमालेका नेताहरुसँग आन्तरिक छलफल सुरु गरेको गौतमका स्वकीय सचिव दीपक टोमटाले जानकारी दिए । अब गौतमले एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने तयारी गरेको उनले बताए ।

उनले भने, ‘अब ७० वर्षे उमेरहद हटाएपछि एमालेका नेताहरुसँग छलफलको वातावरण बनेका छ । उनि (बामदेव) ले एमाले अध्यक्ष लगायत अन्य नेताहरुसँग छलफल गर्न लागेका छ ।’

एमालेको उमेर हदको प्रावधान हटेपछि एमाले प्रवेशको सम्भावना बढेको उनले जिकिर गरे । यद्यपि छलफलको क्रममै रहेकाले अझै निर्णय हुन बाँकी रहेको टोमटाको भनाइ छ ।

TAGS

टिप्पणी