अनुसन्धान र प्रमाण जुटेपछि गृहमन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगो लगाइने गृहमन्त्री नारायणकाजी श्रेष्ठ,

सप्तकोशी न्युज डेक्स 

सुनसरी  । युवाहरुको लोकप्रिय बनेका गृहमन्त्री तिनले गरेका गतिविधिबाट देश र जनता आशावादी बनेका छन् । भरोसायोग्य देखिएका ति गृहमन्त्रीहरुमा अत्यन्तै छोटो समयका लागि गृहमन्त्री बनेका रवि लामिछाने र त्यसपछिका नारायणकाजी श्रेष्ठ । यस पटकको संसदीय निर्वाचनबाट युवा जमातले संसदमा पाइला टेकेसँगै परिवर्तनको अपेक्षा गरिएको छ । ति युवाहरुको आवाजले सरकारलाई काम गर्न बाध्य पनि पारेको छ । त्यही क्रममा नेकपा माओवादीबाट गृहमन्त्री बनेका श्रेष्ठ यतिखेर देशमा तलदेखि माथि सम्म मौलाएको भ्रष्टाचारलाई उखेल्न लागि परेका छन् जसको पहिलो हतियार बनेको छ नक्कली भुटानी शरणार्थी प्रकरण । 


श्रेष्ठले गृह मन्त्रालय सम्हालेको महिना दिनभित्रै उनले सुशासनका निम्ति लिएको तत्परताले भ्रष्ट चरित्रका कर्मचारी र नेताहरू आतङ्कित बनेका छन् भने जनस्तरमा आशा जागेको पाइएको छ । प्रचण्ड र शेरबहादुर देउवाजस्ता नेताहरू निर्णायक भूमिकामा रहेका बेला भ्रष्टाचारविरूद्ध सरकारले कुनै विशेष अग्रसरता लिन नसक्ने ठानिएको थियो । तर, नारायणकाजी श्रेष्ठले मूल नेतृत्वमा जस्तासुकै ब्यक्ति भएपनि काम गरेर देखाउनेहरूलाई कसैले रोक्न नसक्ने दृष्टान्त स्थापित गरिदिएका छन् ।


गृहमन्त्री पदको शपथ लिएकै दिन गृहमन्त्री र सचिवले सुराकीको नाममा गर्ने अपारदर्शी खर्च ब्यवस्था खारेज गरेका श्रेष्ठले देशमा ब्याप्त मिटरब्याजीका ज्यादती अन्त्य गर्ने विशेष पहल लिएका छन् । त्यस्तै, श्रेष्ठले उनीभन्दा अगाडिका गृहमन्त्रीले नेपालीको परिचयपत्र प्रमाणीकरण गर्न रातारात विदेशीलाई दिएको ठेक्का रद्द गरी नेपाल सरकारले नै उक्त कार्य गर्ने निर्णय गरेका छन् । पछिल्लो पटक उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सङ्गठित अपराधमा संलग्न उच्चपदस्थ कर्मचारी तथा राजनीतिक ब्यक्तिमाथि कानूनी कारवाहीको निर्मम प्रक्रिया सुरु गरेपछि मुलुकमा तहल्का मच्चिएको छ ।


केही दिन अघिसम्म गृहसचिव बन्नका लागि नारायणकाजी श्रेष्ठकहाँ अनेक ढङ्गले लबिङ गरिरहेका टेकनारायण पाण्डे यस प्रकरणमा संलग्न रहेकोे प्रमाण फेला परेपछि उपप्रधानमन्त्री श्रेष्ठकै आदेशमा पक्राउ परेका छन् । त्यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई गिरफ्तार भएपछि निजकै बयानका आधारमा सङ्गठित अपराधमा सामेल भएका उच्चपदस्थ ब्यक्तिहरू पहिचान गर्न सजिलो भएको थियो । यस घटनामा रामबहादुर थापा र उनका बहुचर्चित छोरा प्रतीक पनि सामेल भएको पाइएको छ । तर, निजहरूले चेकमा कारोबार नगरेर नगद नै लेनदेन गरेकोले प्रमाण जुटाउन प्रहरीलाई मुस्किल परिरहेको बुझिन्छ । तथापि उनिहरूलाई कारवाहीको दायरामा ल्याउने उपायको खोजी भइरहेको बुझिएको छ ।


त्यस्तै पूर्व उपराष्ट्रपतिसमेत रहेका गुरिल्ला कमाण्डर नन्दकिशोर पुनका छोरा दिपेश पुन पनि भुटानी शरणार्थीका नाममा अपराध गर्नेमा परेका छन् । प्रहरीले पुनको खोजी गरिरहेको बुझिएको छ । प्रहरीले एमाले सचिव रहेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप दोषी रहेको प्रमाण भेटेपछि बाबु(छोराकै नाममा पक्राउ पूर्जी जारी गरेको थियो । छोरालाई पक्राउ गर्न प्रहरी सफल भएपनि बाबु रायमाझी फरार भएका छन् । यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको संलग्नता रहेको प्रमाण फेला पर्न नसकेको बताइन्छ । तर उनकी पत्नी भने शङ्काको घेरामा परेकी छन् । यो सङ्गठित अपराधमा अहिलेसम्म आरजु राणाको संलग्नता रहेको प्रमाण फेला परेको छैन । तर एउटा पार्टीको मूल नेताको स्वकीय सचिव रहेका एक ब्यक्ति भने गम्भीर शङ्काको घेरामा परेका छन् । निजमाथि प्रहरीले निगरानी बढाएको छ र, प्रमाण जुटाउने प्रयास गरिरहेको छ ।


उपप्रधानमन्त्री श्रेष्ठ भ्रष्टाचार र भ्रष्टाचारीप्रति निर्मम ढङ्गले प्रस्तुत भएकोले उनिमाथि अवान्छित दबाब आएर कारबाहीको प्रक्रिया बीचमै रोकिने हो कि भन्ने आशङ जनस्तरमा पैदा भएको छ । तर नारायणकाजी श्रेष्ठ पदरक्षाका निम्ति कर्तब्यबाट बिचलित नहुने अडानमा दृढ देखिएका छन् । यस सम्बन्धमा घटना र विचारले ध्यानाकर्षण गराउदा श्रेष्ठको भनाइ छ( ‘मैले राजनीतिमा सहभागिता जनाएकै शान्ति, जनसमस्याको समाधान, सुशासन र समृद्धिका निम्ति हो, आफ्नो यस लक्षबाट बिचलित हुने छुट मलाई छैन । कसैले मलाई दबाब दिएका छैनन् र, यहाँ दबाबले काम गर्दैन भन्ने धेरैलाई थाहा छ ।’


यसरी नारायणकाजी श्रेष्ठमा भुटानी प्रकरणलाई टुङ्गोमा पुऱ्याएरै छोड्ने दृढता देखिएको छ । अनुसन्धान र प्रमाण जुटाउने कार्य सम्पन्न भएपछि गृहमन्त्रालयले आवश्यक दण्ड(सजायका निम्ति अदालतमा मुद्दा दर्ता गराउने छ । तर अभियुक्तहरू फरार भएको र प्रमाण जुटाउन अझै केही समय लाग्ने भएकोले कहिलेसम्ममा मुद्दा दर्ता होला भन्ने यकिन भएको छैन । जे होस्, नारायणकाजीको कामले निराशामा रहेको नेपाली समाजमा आशा जगाउने काम गरेको छ ।

टिप्पणी