नांगै बनाएर युवतीलाई सडकमा घुमाएको भिडियो बाहिरिएपछि भारतमा हंगामा

01 July, 2025
436

एजेन्सी । भारतमा महिलालाई नांगै सडकमा घुमाएको विषयले तनाव उत्पन्न भएको छ । दुई महिलालाई पुरुषको ठूलो समूहले नांगै सडकमा हिडाइरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबारदेखि भाइरल भएको उक्त भिडियोले मणिपुरको राज्य सरकार र केन्द्र सरकार सम्मलाई ठूलो दवाव सिर्जना गरेको छ ।भारतीय मिडियामा आएका खबरअनुसार भिडियो बुधबार भाइरल भएपनि  घटना ४ मे को हो । नांगै घुमाइएका महिला कुकी आदिबासी समुदायका हुन्  । 

त्यहाँको आदिवासी जनजाति अगुवाहरुको फोरम आईटीएलएफले बुधबार नै विज्ञप्तिजारी गरी घटनामा संलग्नलाई कडा सजायको माग गरेको छ ।

आईटीएलएफका अनुसार घटना कङपोप्की जिल्लाको हो । उक्त दिन मैतेइ जातिका पुरुषहरुले गाउँमा आक्रमण गरेका थिए । आक्रमणमा ३ व्यक्तिको हत्या समेत भएको थियो । थुप्रै घरहरु जलाइएका थिए । भिडियोमा मैतेइ समुदायका पुरुषको समूहले २ युवतीलाई नांगै बनाएर सामूहिक बलात्कारका लागि खेतमा लैजाँदै गरेका थिए । 

त्यही बेलाको भिडियो बनाएको र अहिले सामाजिक सञ्जालमा फैलाइएको आईटीएलएफको भनाइ छ । भिडियो फैलिएपछि हिंसामा परेका युवतीहरूको परिचय खुलेका कारण थप पीडित बनेको आईटीएलएफले बताएको छ । 

घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबारहीको माग आईटीएलएफले गरेको छ । 

भिडियो बाहिर आाएपछि विपक्षी दलका नेता, महिला अधिकारवादी तथा विभिन्न स‌गठनहरूले दोषीलाई कडा सजायको माग गर्दै अभिव्यक्ति दिइरहेका छन् ।

भारतको सर्वाेच्च अदालतले समेत घटनामा संलग्नलाई पत्ता लगाइ कडा सजाय दिन निर्देशन दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाले १४२ करोड भारतीयको बेइज्जत गरेको बताएका छन् । 

यस घटनाको विषय उठाएर विपक्षीले संसदमा हंगामा गरेपछि दुई दिनका लागि दुवै सदनका कारबाही बन्द गरिएको छ । घटनाबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले मणिपुरको घटना सभ्य समाजका लागि लाजमर्दाे विषय भएको बताए । 

मेरो मन आज पीडाले भरिएको छ, आक्रोशले भरिएको छ’ मोदीले भने ‘मणिपुरको घटना कुनैपनि सभ्य समाजका लागि लज्जाको विषय हो।’

आमा दिदी बहिनीको रक्षाका लागि कडा कानुन बनाउन मोदीले राज्य सरकारहरुलाई निर्देशन दिएका छन्।

यस घटनाबारे गाउँका मुखियाको अगुवाइमा मुद्दा दर्ता गराइएको छ । उजुरीमा उल्खेल भएअनुसार मे ४ मा ८०० देखि १००० जनाको समूहमा आधुनिक हातहतियार सहितको समूह गाउँमा आएको थियो । ती मैतेई समुदायका विभिन्न संगठनका व्यक्ति थिए । तिनले गाउँमा लुटपाट र हिंसा मञ्चाएका थिए । ३ जनाको हत्यासमेत गरेका थिए । 

ज्यान बचाउन जंगलतिर भागेका युवतीहरुलाई समाएर ल्याइ नांगै बनाएर घुमाएका थिए । साथै सामुहिक बलात्कारसमेत गरेका थिए भिडियोमा २ महिला देखिए पनि ३ महिलालाई नांगै बनाइएको उजुरीमा भनिएको छ ।

मणिपुरका विभिन्न क्षेत्रमा महिलाहरुले हिजैदेखि विरोध प्रदर्शन गरिरहेका छन् । केन्द्र सरकार र राज्य सरकारमाथि आक्रोश पोखिएको छ । मणिपुरका मुख्यमन्त्री एन वीरेन्द्र सिंहले  घटनामा संलग्नलाई फासीसम्मको सजाय दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

भारतीय मिडियाका अनुसार उक्त राज्यमा कुल जनसंख्याको ४० प्रतिशत नाग–कुकी आदिबासीहरू छन् । मैतेई जातिको संख्या ५३ प्रतिशत छ । यहाँ मैतेई र कुकी समुदाय बीचको विवादले २ महिनादेखि हिंसा भइरहेको छ । यस हिंसामा १६० जनाको ज्यान गइसकेको छ । 

टिप्पणी