उच्चस्तरीय छानविन समिति गठन गर्न एमालेको अडान, सत्तापक्ष सांसद भन्छन् -आवश्यक छैन

01 July, 2025
278

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राखेको छ भने सत्तापक्षले उच्चस्तरीय समिति गठनको आवश्यकता नरहेको जनाएको छ ।

उच्चस्तरीय छानविन समितिमा बिषयक कुरा मिल्न नसक्दा सोमबार बोलाएको प्रतिनिधिसभा बैठक स्थगीत भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको मुख्य माग रहेको बताए । उनले छानविन समितिबाट आएका निष्कर्षको आधारका आवश्यक कारवाही गर्न एमालेले सघाउने धारणा राख्नुभयो । सरकारले एक दिनको समय माग गरेकाले सोमबारको बैठक स्थगीत भएको उनले बताए ।

यता माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजस्व अनुसन्धान बिभागले नै छानविन समिति गठन गरेको अवस्थामा उच्चस्तरीय समिति गठन गरे अनुसन्धान नै कमजोर हुने बताए । राजस्वलाई विश्वास नगरि अर्को समिति बनाउनु जायज नरहेको आफूहरुको भनाइ रहेको उनको भनाइ छ । उनले एमालेले आफ्नो अडान कायम रहँदा सदन अवरुद्ध हुन पुगेको आरोप लगाए । गृहमन्त्रीले जवाफ दिएर सदन चलाउन सहमतिबाट एमाले पछि हटेको उनले बताए । त्यस्तै कांग्रेसका सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरियामात्रै नभई मालिकलाई समेत पक्राउ गर्नुपर्ने बताए। उनले सुन प्रकरणको छानविन गर्नुपर्ने र गृहमन्त्री तथा अर्थमन्त्रीले यस बिषयमा सदनमा जानकारी गराउनुपर्ने उल्लेख गरे ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी र सरकारबीच कुरा नमिल्दा सदन अवरुद्ध हुन पुगेको बताए । अहिलेकै अवस्थामा मंगलबार पनि सदन चल्ने सम्भावना नदेखिएको उनले बताए ।

उनले एमालेले सुन प्रकरणमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको र सत्तापक्षले आफुहरु अनुसन्धानमा रहेकाले अन्य निकायलाई असर गर्ने गरि छानविन समिति गठन गर्न नहुने अडान राखेकाले संसद नै अवरुद्ध हुन राम्रो नभएको धारणा राखे ।

टिप्पणी