कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चले गर्‍यो बदर

01 July, 2025
287

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको छ । साथै अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । गत असार २१ मा कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत संलग्न गरि कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री एवं एमाले नेता हिक्मत कार्कीले सभामुखको हस्ताक्षर कानून र संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएका थिए । रिटमा पूर्व मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए । सर्वोच्चले कार्कीको माग बमोजिम परमादेश दिन भने अस्वीकार गरेको छ ।

टिप्पणी