मनाङको अवस्थाः ३५ किलोमिटरमा ३५ पहिरा

01 July, 2025
298

सप्तकोशी न्युज संवाददाता

मनाङ ।  हिमाली जिल्ला मनाङमा  निरन्तर वर्षाले पहिरा पन्छाउन समस्या, आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे-बेसीसहर(चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो ।

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।

यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

उनले भने, “केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ ।”

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए । निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए ।

सडकमा खसेको ढुंगा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले  जोखिम मोलेरै काम गरिरहेको बताए ।

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उनले जानकारी दिए । “लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताइन् । नले पहिराका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिए ।

डुम्रे-बेसीसहर(चामे(खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे(बेसीसहर(चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ । खसेको पहिरा हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।

टिप्पणी