लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्

01 July, 2025
202

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले सोही दिन अन्य तीन मन्त्रीहरूलाई विना विभागीय नियुक्त गरे पनि अझै उनीहरुलाई मन्त्रालयको जिम्मा दिन र मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका हुन् ।मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको प्रभावकारिता देखाउन समस्या पर्ने भन्दै सत्ता गठबन्धनभित्र रहेका दलकै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अन्तिम समयमा पुगिसकेको र आगामी आर्थिक वर्षका लागि बजेट बनाउने चटारो हुनुपर्ने समयमा समेत सरकारले पूर्णता नपाएपछि विभिन्न मन्त्रालयका सचिवहरू समेत अलमलमा परेका छन् ।

जनमत पार्टीका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र गुप्ताले सरकारलाई चाँडो पूर्णता दिनुपर्ने बताए । उनले आगामी वर्षको बजेट निर्माणको गृहकार्य गर्नुपर्ने समयमा सरकारलाई पूर्णता दिन नसक्दा अन्ततः सरकारलाई आगामी दिनमा काम गर्न कठित हुने बताए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय भागबण्डा मिलिसकेको छैन । नेपाली कांग्रेसभित्रै पनि मन्त्री पदका लागि आकांक्षीहरु धेरै छन् ।लुम्बिनी प्रदेशमा राम्रो प्रभाव रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि प्रदेशका कांग्रेस सांसदहरु नै अन्योलमा परेका छन् । स्रोतका अनुसार खाण पक्राउ पर्नुभन्दा अघिल्लो दिनमात्र बुटवलबाट काठमाडौं गएका थिए ।उनले एक चरण पार्टीका प्रदेशसभा सदस्यहरुसँग बसेर सरकारमा जाने तयारीका सम्बन्धमा गृहकार्य गरेका थिए । नेपाली कांग्रेसभित्र मन्त्रीका लागि १० जनाभन्दा धेरै आकांक्षी छन् । मुख्यमन्त्री चौधरी सरकार विस्तारलाई अन्तिम रुप दिन पार्टीका नेताहरुसँग छलफल गर्ने उद्देश्यले काठमाडौं गएका छन् ।

उनी फर्किए लगत्तै मन्त्रिपरिषद विस्तार हुने कांग्रेस नेताहरुको भनाइ छ । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बजेट निर्माणको बेलामा सरकार विस्तार चाँडो टुङ्ग्याउनुपर्ने बताए । पत्रपत्रिका बाट 

टिप्पणी