मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस कार्यक्रम गरी मनाइयो

01 July, 2025
306

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । नेपाल भर मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूलन भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको हो ।

दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लगायत विभिन्न संघसंस्थाले सचेतनामूलक र्‍याली समेत निकालेको थियो ।

र्‍यालीपछि सिंहदरबारस्थित महिला मन्त्रालयमा आयोजित कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने बताइन् ।

उनले पछिल्लो समय तस्करी पनि धेरै तरिकाले हुने गरेको भन्दै विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्याका रूपमा खडा भइरहेको उल्लेख गरिन् । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र मानव बेचविखन जस्ता अपराधका घटनाहरु नियन्त्रण गर्न नसकिने भन्दै सबै संघ संस्थाको सहयोग आवश्यक पर्ने बताए ।

उनले सरकारले नेपालको संविधान, मुलुकीय अपराध संहिता २०७४, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५, बालबालिकासम्बन्धी ऐन २०७५, बाल श्रम निषेध र नियमन गर्ने ऐन २०५६, बैदेशिक रोजगारसम्बन्धी ऐन र नियमावली १५ औं योजना, विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत मानव बेचबिखनलाई गम्भिर फौजदारी अपराधको रुपमा राखी यसको नियन्त्रणको लागि विभिन्न नीतिगत र संस्थागत कार्यक्रमको व्यवस्था गर्दै आएको जानकारी दिए ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेपछि नेपालमा २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवशको रुपमा मनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

टिप्पणी