प्रचण्डले शनिबार पार्टीको विशेष अभियान उद्घाटनको क्रममा दिएको अभिव्यक्तिले कांग्रेसमा तरंग

01 July, 2025
302

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । पुष्पकमल दहालको पाँचै वर्ष प्रधानमन्त्री बन्ने अभिव्यक्तिले कांग्रेसमा तंरग ल्याएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार पार्टीको विशेष रुपान्तरण अभियानको उद्घाटनको क्रममा दिएको अभिव्यक्तिले कांग्रेसमा तरंग ल्याएको छ ।

उनले माओवादीको गत शनिबारदेखि देशभर सुरु गरिएको तीनमहिने अभियानको उद्घाटनको क्रममा चन्द्रागिरि नगरपालिका–४ मा आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने वातावरण बन्दै गएको टिप्पणी गरेका थिए ।

‘कति दिनलाई हो १५ दिन या एक महिना भन्ने थियो । अब पाँचै वर्ष जाला जस्तो भयो,’ उनको भनाइ थियो । उनले भ्रष्टाचारविरुद्धको सरकारको कदमलाई लिएर कतिपय सरकार ढाल्ने दाउमा रहेको बताउँदै लाखौं जनतालाई सडकमा ओराल्ने तयारी समेत रहेको बताएका थिए ।

प्रधानमन्त्री पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सम्भावना औंल्याएपछि यसले कांग्रेस वृत्तमा तरंग आएको छ । कांग्रेसको सभापति शेरबहादुर देउवा इतरका नेताहरुले सार्वजनिक टिप्पणी गर्न थालिसकेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गर्दै कांग्रेस नेता शेखर कोइरालाले अहिलेको अवस्थामा प्रधानमन्त्री नै प्रमुख भएकाले त्यसको प्राप्तिको लागि देउवाको भूमिकामाथि प्रश्न गरेका थिए । 

उनले संसदीय व्यवस्थाको प्रमुख पद भनेकै प्रधानमन्त्री भएकाले पार्टीले नेतृत्व गर्न देउवाको अग्रसरता हुनुपर्ने मत व्यक्त गरेका थिए ।

सत्ता गठबन्धनमा भएको भद्र सहमति अनुसार दाहाल दुई वर्ष त्यसपछि माधव नेपाल एक वर्ष र बाँकी अवधि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताइएको छ । यद्यपि दाहालको पाँचै वर्ष प्रधानमन्त्री बन्ने अवस्था निम्तिएको अभिव्यक्ति कार्यकर्ता रिझाउने आश्वासन मात्रै भएको कतिपयले चर्चा गर्दछन् । प्रधानमन्त्री दाहालको अभिव्यक्ति सत्ता गठबन्धनलाई निरन्तरता दिने आशयले व्यक्त गरिएको माओवादी केन्द्रका महासचिव देव गु्रुङको बुझाइ छ । उनले कार्यकता माझ बोलिएको विषयलाई मिडियाले अतिरञ्जित गरेको बताए ।

उनले डिसी नेपालसँग भने, ‘मैले गठबन्धनलाई पाँचै वर्ष निरन्तर अघि बढाउनुपर्छ भन्ने आशयले बोलेको बुझेको छु। उहाँले सहमति भए पाँचै वर्ष बन्ने सम्भावना पनि छ भन्न खोज्नुभएको होला ।’

महासचिव गुरुङ अहिलेको आवश्यकता गठबन्धनको निरन्तरता भएकाले सहमति विपरीत जाने प्रयत्न कसैले गर्न नहुने जिकिर गर्दछन् । उनले सत्ता गठबन्धनको सहमति अनुरुप माओवादी अघि बढ्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘कतिपय सन्दर्भ अनुरुप अभिव्यक्ति जे व्यक्त गरिएपनि अहिलेको आवश्यकता गठबन्धनको निरन्तरता हो । यसको विपरीत कोही पनि जाने प्रयत्न प्रधानमन्त्रीबाट हुँदैन ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति कार्यकर्ता माझमा व्यक्त गरिएकाले सशंकित हुन जरुरी नभएको प्रष्ट पारे । राजनीतिक रुपमा कार्यकताबीच बोलिने विषय र बाहिर प्रधानमन्त्रीको हैसियतमा अभिव्यक्त विषयमा तादाम्यता नमिल्दा अन्यथा ठान्न नहुने उनको भनाइ छ ।

समयानुकुल अभिव्यक्ति दिएर पछि आत्मआलोचित गर्ने दाहालको पुरानै स्वभाव हो । यही बुझेर कांग्रेसको संस्थापन पक्षले मौनता प्रकट गरिरहेपनि इतर पक्ष भने प्रधानमन्त्रीको अभिव्यक्तिले सशंकित बनेको छ ।

कांग्रेसका संस्थापन इतरका महामन्त्री गगन थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति पछि सार्वजनिक रुपमा सरकारको आलोचना गर्न थालेका छन् । उनले पछिल्लो महेन्द्र यादवमाथि आक्रमणको घटनालाई लिएर सरकारको तिव्र आलोचना गर्न लागेका हुन् ।

सरकारले सुरक्षा व्यवस्था कायम गर्न नसकेको उनको आरोप छ । सरकारको भ्रष्टाचार विरोधी अभियान पनि पूर्वाग्रही भएको उनले बताइरहेका छन् । बिहीबार सदनमा समेत उनले सरकार र गृहमन्त्रीको कडा आलोचना गरेका थिए । सरकारले सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको उनको आरोप थियो । प्रधानमन्त्री दाहालको पछिल्लो अभिव्यक्ति सत्ता गठबन्धनको मर्म विपरीत रहेको कांग्रेस नेता डा।शेखर कोइराला बताउँछन् । उनले सरकारको काम कारबाही सन्तोषजनक नभएकाले कांग्रेसले नेतृत्व लिन अग्रसरता देखाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले डिसी नेपालसँग भने, ‘सरकारले जनताका अपेक्षाहरुको सम्बोधन गर्न सकिरहेको छैन । कांग्रेसकै मन्त्रीहरुको कार्यसम्पादन पनि सन्तोषजनक देखिएन । संसदीय व्यवस्थामा प्रमुख पद भनेकै प्रधानमन्त्री हो । त्यसैले ठूलो दलको हैसियतले अब कांग्रेसले नेतृत्व लिन पहल गर्नुपर्छ ।’

सरकारको बेथिति नियन्त्रणमा अक्षमता देखाएकाले कांग्रेसले सरकारको नेतृत्व लिन पहल गर्नुपर्ने आफ्नो मत रहेको उनको भनाइ छ ।

सरकारको नेतृत्व गर्न यस अघि गठबन्धनमा भएको सहमति तोड्न कांग्रेस तयार भएको हो ? भन्ने प्रश्नमा कोइरालाले भने, ‘त्यस विषयमा अहिल्यै केही निर्णय गरिएको छैन । तर सरकारको कामकारबाहीले कांग्रेस मात्रै होइन कोही पनि सन्तुष्ट छैन । अब छलफल अघि बढाउनुपर्छ भन्ने हाम्रो मत हो ।’

उनले सरकारको नेतृत्व लिने विषयमा पार्टीमा छलफल गर्दै दबाव बढाउने आफूहरुले तयारी गरेकोे समेत जानकारी दिए । सरकारको काम प्रभावकारी हुन नसकेको बताउँदै प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति गठबन्धन विरोधी भएको उनको धारणा छ ।

उनले दाहाल नेतृत्वको वर्तमान सरकारले देशका विद्यमान बेथिति नियन्त्रण गर्न नसक्दा दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाए ।


टिप्पणी