समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरूः प्रधानमन्त्री पुष्पकमल दाहाल

01 July, 2025
371

सप्तकोशी न्युज संवाददाता

रोल्पा । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन्

झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु, अध्यक्ष प्रचण्डले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ । यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ । क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बांगोटिंगो हुन्छ । यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ । यो विज्ञानको नियम ह‍ो । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो । अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं । संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ ।’

आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र  विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उनले भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे । आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ । समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ । शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदैछ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकतावद्ध हुन्छौं । समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं । सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ । मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ । यो निकै ठूलो काम हो । सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ । यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन । यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ ।’

अध्यक्ष प्रचण्डले भन- 

उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ । अहिले ७ अर्ब छुट्याइएको छ । छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं, प्रधानमन्त्रीले भन्यो, म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर, दवावमुक्त भइसकेको छैन । तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु । सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ । भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ । नेपाल-भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिवद्धता भएको छ । २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ । १० वर्षमा १० हजार विजुली बेच्ने सम्झौता भएको छ । यी कुरा सामान्य छैनन् । संयुक्त राष्ट्रसंघको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शीर उच्च बनाएको छ । चीनसँग नाका खोल्ने सम्झदारी भएको छ । कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछू प्रधानमन्त्रीले भन्नुभयो, ूचीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ । त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ ।

सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ । हिजो क्याबिनेटबाट स्वीकृत भएको छ । यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ । सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ । हिजो क्याबिनेट बैठकले देशका ३ वटा रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौं । यी निकै महत्त्वपूर्ण निर्णय हुन् । थवाङमा पछिल्लोसमय राम्रो विकास भएको छ । गणतन्त्रपछि राम्रो प्रगति भएको छ । भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ। तपाईहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु । यसका लागि थप पहल गर्नेछु । सहिदमार्ग युद्धकालमा मैले नै प्रस्ताव गरेको थिएँ। यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ । विद्युतीकरणका बाँकी काम पनि टुंगाइनेछ । नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ । समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ ।



 

टिप्पणी